Tuesday 6 October 2015

'' वासि अनुहारहरू '' कविता -३

'' वासि अनुहारहरू ''

मिराज
खोजीले भरीएको .
थोरै सत्य  अनि धेरै भ्रम ,
असंख्य कृतिम हांसो  पोखिएको
, इर्श्या , जलन र तनाव पोतिएको
 एउटा भित्तो।
जसमा संसार कर र रहरमा
  साङ्लो बन्दै
जोडींदै गएको छ ,अन्तहिन खोजमा ।
अतृप्‍तिको मरूभुमिमा  तृप्‍तिको तिर्खा मेट्न
भीड लाग्ने त्यो भित्तो ।   
त्यही  फेसबुक नामको  आंखिझ्याल बाट
म संसार  चियाउंछु, र देख्छु तिम्रो उजाड वास्तविकता 

, सबै-संधै  शिखरमा
अडिएको  देख्छु
एकै पलको हांसो
मुस्किलले  ,
 सेल्फीका’ लागी उभिएर ।
कृतिम मुस्कान , प्राप्ति र सफलताले
कति तिता  अभावहरू छेकेका छन्-
फेस बुकका छरीएका मुस्कानहरूले ।

ग्रहणले सुर्यलाई डसे  जस्तै।
आडम्बरको दौडमा मान्छेहरू
देखाउन  र देखिन  विछिप्त
म्याराथुनमा सभागी   छन् ।

अक्टोपस हुर्काउंदै आँफैंसँग  
आफुमा रहेको  सबैं  वस्तु
 रित्तिए पछि
देखाउनकै लागि
 कोही नाङ्गिएका छन्।
देखाउनै पर्ने , देखिनै पर्ने ,
जालोमा फस्दै ई -रोगी
बनेका छन् मान्छेहरू।
भ्रमको खेती जसले
 जती बढी छर्यो ,
उसैले सस्ता तालिका लाइक
पाउने लालसामा फस्दै गईरहेको
छ मान्छेका सिर्जनशिल समयहरू 
निम्फोमेनियक सँग डुल्दै छन्,
विजुली तरङ्गमा ।

धन्य मार्क जुकर्बर्ग
तिम्रै  साङ्लोमा
संसार जेलिएर तिमीलाई
,आधुनिक कुवेर  बनांउंदै छ।
 तर यो भित्ताले कहाँं देख्यो  र खै
मेरो जुनकिरिको कथा ।

गगन चुम्वि भवनको  छेउमा
ढाका  टोपी मुनि बांधीएको
ककटेल पोशाकमा  हांसो अटाउने  ,
दिवालमा , मान बहादुरले
 टाइशुट खोलेर भट्टिका कुनाहरूमा
डलर सँगै साटेका मैला पसिनाहरू,
खै कहाँं लाइक गर्न पाईन्छ र !  
तिमी हांसेर सेल्फिमा
दन्तलहर देखाईरहंदा
जीवन सिलाउन
 हिडडा हिंददै आँफै उध्रिएका
किसानका सपनाहरू ।

भकारो सोर्दै गर्दा
 मेटिएका हातका रेखाहरू  ,
सोत्तरको भारी घिसार्दै गर्दा,
 चौतारीले मागेको 
नाकैको टुप्पोका पसिनाहरू ,
तिम्रो भित्तामा
कहाँँ अटायो त  खै ,
अझै टुकिमा निर्वाह  गर्ने
मेरो बस्तिमा टल्केका
अभावका  कथाह्ररू ।
मरू भुमिमा चुहिंदै गरेको ,
बुद्दका पसिना ,
अध्यांरो कोठामा ,
भांडा  मस्काइरहेका ठेलाहरू
कहाँ पोस्ट भएर खै । 

भयो तिम्रो भित्तामा
नटांसिएका बा का , उध्रिएका
टोपिहरू
पाखुराहरूले छाडेका
बांझा सुन  खेतहरू
 तिम्रा भित्तामा  नअटाएर 
केही भएन,
चट्याङ्गको उज्यालोमा
 मेरो गोठ ,
पधेंरो , र खोरियाहरूको
आकाशले तस्विर उतारीरहेछ
ब्रम्हा बुढाको  फेसबुकमा
 सभ्यता र प्रकृति  
'स्ट्टाटस 'सङ्गै 'ट्याग गर्दै '
 युगौ युग देखि। 


त्यसैले तिमी लाइक गर या  नगर
युगले कोरेका मेरो
 भीरकुनाको वस्तिहरू 
प्रकृतिको   सेल्फीमा
मौसम नै पिच्छे पोस्ट गरिएका ,
सुनगाभा ,लालिगुरांस, चांप  र पैंयुंको
पोस्टिङ्ममा  ,डांफे र मुनालको कमेन्टमा रम्दै 
पारी पारीका हिमाल सँगै हांसिरहेको 
निस्कलङ्कित आकाशको सम्मोहनमा ।        
भएको नदेखिएला  भन्ने  डर छैन
नभएको कृतिमता देखाउनै पर्दैन ।

जुनकीरी सँगै विश्राम गर्दै ,
भालेको डांक  सँगै जाग्ने
मेरा कटेरीहरू , लाइकको गन्तिमा
 अबेररात सम्म
बासी अनुहार  कहिल्यै  बन्दै बन्दैन ।
उं हांसि रहेछ आफ्नै मौनतामा
स्वतस्फुर्त मित्र छन्न ,जल ,
वायु , अग्नि र आकाश
 र धर्ती  ‘लाइक’को लागि
पैचो तिरेर खेताला साथी
 बनाइ रहनै पर्दैन ।

-भीमसेन सापकोटा ।   (5-10-2015)





  

No comments:

Post a Comment