Saturday 26 September 2015

'ए फुजिको नलजाउ अब ' (कविता -2)

'ए  फुजिको नलजाउ अब '

शर्माएर लजाएको
तिम्रो जपानको सगरमाथा
ले  घुम्टो खोल्दै खोलिनन्
त्यसैले सम्झाउंदै छु , ए फुजि।
तिमी नलजाउ किनकि तिमीले
कम्तिमा आफंले  पाएको  तेन्जिन्ङलाई
आफ्नै  नागरिकतामा
नअटाएको देख्नु परेन ।
घुम्टो खोलेर हेर त ,
सगरमाथाका फेदिका ,
सुनगाभा फलाउने हातहरू ठेला फुटाउंदै,
 तिम्रै टोकियोका  गराहरूमा
सिर्जना फुलाउन ब्यस्त छन्न्।
भन्देउ तिम्रो साकुरालाई
पनि तिमि संधै मुस्कुराइ रहनु ,कम्तिमा तिमीले
भीर पहरामा फुल्नु परेको छैन ,
गुरांसले झैं तिमीले दुख्नु परेको छैन । 
आफ्नै छात्तीचिरा पार्दै
सन्तानहरूको चिहान आफ्नै
दैलोअघि थुप्रिएको  सडकको
खरानीमा  खोज्नु परेको छैन  ।
तिमी टोकियो  टावर सङ्गै 
युग -युग उभिरहनु ,
अस्ट्रेलियाको ओपेराधुरी झैं
आदिवासिको अस्तित्व लुटेर
सेता मान्छेहरूको कालो ईतिहास बन्दै
लज्जाले पुस्तौं -पुस्ता शिर झुकाउनु परेको छैन  ।
तिम्रा समुद्र किनारका छालहरूले
सिरियाको सिमाना बन्दै
रगतका टाटा पखाल्नु परेको छैन ।
फेरि भन्छु तिमी अटल रहनु 'तातेसेना'
तिम्रा सिमाना सर्ने छैनन्,
टनकपुर र कालापानिको आंशु बनेर
तिमी कहैल्यै  बग्नु परेको छैन ।
ओशाकाका सडकहरूमा
कतै बुद्द अलमलिएको देख्यौ भने
सीताले जीजीविषाको  खोजिमा,
आफ्नै ठेगाना भुलेको भेट्यौ भने 
'सिबुया 'चोकमा हैन उनलाई
सगरमाथा कै वस्तिमा उनको
 अपुरो  सपना पर्खिरहेछ सम्झाइदिनु ।
मलाई थाहा छ ,
 टोगा र टुकुचे मितेरी साईनो  सँगै मुस्कुरांउंदा ,
फुजि तिमी सगरमाथाका  आंशु देख्न सक्दिनौं । 
सगरमाथाबाट झरेका मोतिहरू,
तिमिले आफ्नै पेवा नस्म्झीदिनु   ,
सक्छौ चम्काएर फर्काईदिनु किनकिन ,
उनिहरू आफ्नै मुकुटमा ज्यादा सुहांउछन्।
विश्वयुद्दमा तिमीसङ्गै नाचेका खुकुरिहरूलाई
एक पटक फेरि सम्झाइदेउ ओशाका
,अरूको सिमानामा गर्खाली खवरदारी युगौ देखि गर्यौ
अब एक फेर आफ्नै सिमानामा
जङिएर बहादुरी को साख राख भनिदेउ ।
त्यसैले अब नौ जवान सगरमाथालाई जापान
भित्र विलाउने सपना मात्र हैन
बुद्दभुमि मै प्रगतिका साकुरा फुल्ने
योजना थमाएर फर्काइदेउ ।
मलाई थाहा छ ,फुजी म ,
तिम्रै दैलो 'फुजिको खावावागुचि'मै पुग्दा पनि
 तिमीले बादलको घुम्टो लज्जाले,
 फाल्दै- फालिनौ किनकि
तिमीलाई  डर छ तिम्रै कारण देउराली रोएको खवर
पनि तिमीलाई मैले सुनाउने छु भनेर 
उर्वर जवानीलाई 'मान' र 'एन' मा  जोखेर  ,
केवल छोक्रे बुढौलिहरूमात्र
देउरालीलाई फिर्ता गरेकि छौ कि तिमीले ।
मैले सबै  हिसाब किताव माग्नेछु आजसम्मका तिमीसङ्ग,
 म तिम्रो चाहकिलो जुन को मात्र प्रसम्शा गर्ने छैन,
जुन भित्रको दागको प्रश्न पनि साथै ल्याएको छु ।
  यतिमात्र कहां होर
 तिमी लजाउनुको गहिरो रहस्य  छ म सँग
निर्दोष सगरमाथाका धेरै
 सपना र जवानीका जोशहरूलाई कोफिनमा       
  साटेर फिर्ता गरेकि छौ  तिमीले ।
ए फुजि, भयो नसर्माउ ,अब जे हुनु भयो ,
 घुम्टो खोलेर अब तिमीले तिम्रो मझेरीमा अलमलिएका
 सगरमाथाका पाइलाहरूलाई
यत्ती भनिदिए पुग्छ,
चन्द्र सुर्यका सुर्यले  ,
चन्ङ्गाले प्रगतिको आकाश जति चुमे पनि  
उसको अस्तित्वको धागो
लट्टाईबाट नछुट्टिन्जेल सँग मात्र हुन्छ ।               


         (जापान यात्रामा लेखिएका कविता)
 -भीमसेन सापकोटा  

No comments:

Post a Comment